काठमाडौं । विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउन उद्योगी तथा व्यवसायी मनोज भारती फेरि अग्रसर भएका छन्। फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक भारतीले रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि लाखौँ रुपैयाँ बराबरका लत्ताकपडा, जुत्ता तथा अन्य आवश्यक सामग्री सहयोग गरेका हुन्।
आफूसँग भएको स्रोतसाधनलाई संकटमा परेका नागरिकको हितमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने भारतीले यसअघि पनि विभिन्न विपत्तिका बेला सहयोग गर्दै आएका छन्। कोभिड–१९ महामारीदेखि विनाशकारी भूकम्पसम्मका कठिन परिस्थितिमा उनले व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट पीडितलाई सहयोग गरेका थिए।
यसपटक पनि प्राकृतिक विपत्तिले नागरिकको जनजीवन प्रभावित भइरहेका बेला भारती राहत सामग्रीसहित पीडितको साथमा उभिएका हुन्।
फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डस्ट्रिज प्रा.लि.द्वारा उत्पादित राहत सामग्री काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा हस्तान्तरण गरिएको छ। भारतीले कार्यालयमै पुगेर गृहमन्त्रीका स्वकीय सचिव जेन्स कार्कीलाई बाढी तथा पहिरो प्रभावित नागरिकका लागि ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट्स जुत्ता, टी–सर्ट, ट्राउजर र विन्डसिटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्याउने उद्देश्य राखिएको छ।
बाढी तथा पहिरोका कारण कतिपय परिवारले घरबार गुमाएका छन् भने कतिपय परिवार आफन्त गुमाउनुको पीडामा छन्। यस्तो अवस्थामा राहतका रूपमा खाद्यान्न र बसोबासको व्यवस्था जत्तिकै दैनिक प्रयोगमा आउने कपडा तथा जुत्ताको पनि आवश्यकता पर्ने भएकाले त्यसलाई ध्यानमा राखेर सहयोग गरिएको भारतीले बताएका छन्।
विपत्तिमा परेका परिवारको अवस्थालाई नजिकबाट महसुस गर्दै आफ्नै उद्योगमा उत्पादित सामग्री पीडितसम्म पुर्याउने पहल गरिएको उनको भनाइ छ।
भारतीका लागि यो सहयोग केवल राहत वितरणमा सीमित छैन। उनले व्यवसायबाट प्राप्त स्रोतको केही हिस्सा सामाजिक सेवामा लगानी गर्दै आएका छन्। संकटका बेला आफू सुरक्षित भएर बस्नुभन्दा पीडित नागरिकको घरदैलोसम्म सहयोग पुर्याउनुपर्छ भन्ने उनको मान्यता छ।
उनको पछिल्लो सहयोगले विपत्तिमा परेका रसुवाका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरणसमेत प्रस्तुत गरेको छ।
व्यवसायबाट आर्थिक सफलता हासिल गर्नु एउटा पक्ष हो भने त्यही सफलताको केही हिस्सा समाजमा संकटमा परेका नागरिकका लागि खर्च गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी हो। भारतीको सहयोगले उद्योगी तथा व्यवसायीहरूलाई पनि विपत्तिका बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


