काठमाडौँ । बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभरि निरन्तर सञ्चालन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको जलसतह अत्यधिक बढेपछि आयोजनाको क्षेत्र आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ।
यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ुस्पेशल फोर्सु परिचालन गर्ने तयारी गरेको छ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


