काठमाडौँ । नेपाल–चीन सीमानजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ । हाल स्थिति नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीहरूले भने, “कृत्रिम ताल भरिएर पानीको निकास सुरु भइसकेको छ । हालको समग्र स्थिति स्थिर छ र ताल पूर्ण रूपमा भत्किने जोखिम तुलनात्मक रूपमा निकै कम छ ।”
लाङटाङ लिरुङ हिमशृंखला नजिकै रहेको हिमनदीको ठूलो भाग भत्किएर तल रहेको नदीमा खसेपछि विशाल हिमपहिरो र पहिरो गएको चिनियाँ प्रारम्भिक अध्ययनले देखाएको छ ।
हिउँ, चट्टान र पानी मिसिएको भीषण लेदो तलतिर बग्दै केरुङ नाकासम्म पुग्न मात्र ६ देखि ७ मिनेट लागेको चिनियाँ प्राविधिक अध्ययनले देखाएको छ ।


