काठमाडौँ । सोमबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद आशिका तामाङले माफी मागिन् । समितिका सभापति अशोक कुमार चौधरीले अशिकालाई केही बोल्नुहुन्छ भनेर सोधेका थिए । त्यसको जवाफमा आशिकाले माफी माग्दै आफूलाई विषयवस्तु थाहा नभएको र अरू बोलेपछि मात्र बोल्ने जानकारी गराइन् ।
त्यसो त आशिका जहिल्यै आक्रामक देखिने गर्छिन् । संसद्मा होस् वा कुनै बैठकमा उनी कुनै न कुनै कुराले आक्रोशित बन्ने गर्छिन् ।
गत शुक्रबार काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल गर्न सहरी विकास मन्त्रालयले डाकेको बैठकमा आशिका मेयरहरूसँग आक्रोशित बनेकी थिइन् ।
उपत्यकाका स्थानीय सरकारहरू यहाँको फोहोर थुपारिने बञ्चरेडाँडाका जनताले भोग्दै आएको समस्याप्रति गम्भीर नभएको भन्दै उनी आक्रोशित मुद्रामा प्रस्तुत भएकी थिइन्।
त्यसै क्रममा सबै स्थानीय तह प्रमुख बैठकमा सहभागी नभएको र सहभागी भएकामध्ये पनि कोही बिचैमा उठेर हिँडेको भन्दै उनी बारम्बार टेबल ठोक्दै, मेयरहरूतिर औँला तेर्स्याउँदै जंगिएकी थिइन्।
त्यसपछि ‘काठमाडौंको फोहोर रोकिने’ चेतावनी दिँदै उनी आफू पनि बैठक छाडेर हिँडेकी थिइन्।


