काठमाडौँ । नाडा अटो शो-२०२६ यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त अटो सो हुन लागेको हो ।
६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अठोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने आयोजकले जनाएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो सो को १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा आयोजना गरिने भएको छ ।
नाडा अटो सो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो ।
यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ ।
यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जसमा २३ वटा ब्रान्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्रान्डका दुई पाङ्ग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, ब्याट्री, हेलमेट एवं अन्य सामग्रीहरू समेत रहेका छन् ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक्स्पोमा नेपालमै एसेम्बल भएका यात्रीदेखि विभिन्न ब्रान्डका सवारी साधनहरुको प्रदर्शन गरिने जानकारी दिए ।
उनका अनुसार यस पटकको प्रदर्शनीमा नेपालमा उत्पादन भएका ‘यात्री’ तथा नेपालमै एसेम्बल भएका विभिन्न स्कुटर, बाइक, नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्स, हेलमेट सँगसँगै विभिन्न अटो कम्पोनेन्टहरू सहभागी हुँदै छन् ।


