काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको झडपबारे छानबिन गर्न गठित दुई समितिले प्रतिवेदन बुझाएका छन्। दुवै घटनामा गरी चार जनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको समितिको निष्कर्ष छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। घटनामा सुरक्षाकर्मीले २० राउण्ड गोली चलाएको पाइएको छ।
त्यस्तै, सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको पेस्तोलबाट चलेको गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको समितिले जनाएको छ। सशस्त्र प्रहरीले गोली नचलाएको र बाहिरबाट समेत हतियार प्रयोग भएको प्रमाण नभेटिएको निष्कर्ष छ।
समितिले घटनामा सुरक्षा व्यवस्थापनमा लापरवाही तथा त्रुटि गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन सुधार गर्न सुझाव दिएको छ।


