काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन सत्रमा धर्मको विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद देखिएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा भेलाबाट पारित निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो। विवाद बढ्दै जाँदा दुवै नेताले निर्णय लेखिएको कागजसमेत एक–अर्काबाट खोसाखोस गरेका थिए।
विवादको मुख्य कारण भेलाको प्रस्तावमा समेटिएको धर्मसम्बन्धी शब्दावली थियो। डा. महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखिएको थियो। तर, निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।
कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला यही विषयमा दुई नेताबीच विवाद भएपछि मञ्चमै केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। नेताहरूबीच कागज खोसाखोसको अवस्था आएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए।
देउवाको हस्तक्षेपपछि अन्ततः डा. महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै कार्यक्रममा वाचन गरिएको थियो।
यसअघि समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्नुपर्ने धारणा राखेका थिए। धर्मका विषयमा आफ्नो अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट चर्चा भएपछि देउवाले पछि त्यसबारे स्पष्टीकरणसमेत दिएका थिए।
यसरी कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको समापन सत्रमा संगठनात्मक तथा राजनीतिक विषयभन्दा धर्मसम्बन्धी शब्दावलीलाई लिएर शीर्ष नेताबीच मञ्चमै देखिएको विवादले थप चर्चा पाएको छ।


