काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब छ महिनापछि आज स्वदेश फर्किंदैछन्। लामो समय विदेशमा उपचार र स्वास्थ्यलाभ गरेपछि देउवा काठमाडौं आउन लागेसँगै कांग्रेसभित्र राजनीतिक गतिविधि पनि एकाएक तातेको छ।
देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बाजागाजा, सांस्कृतिक झाँकी र कार्यकर्ताको उपस्थितिसहित स्वागत गर्ने तयारी गरेको छ। स्वागतलाई भव्य बनाउन इतर समूहले आफ्ना नेता–कार्यकर्तालाई विमानस्थलमा उपस्थित हुन आह्वानसमेत गरेको छ।
इतर समूहका अनुसार देउवाको स्वागतका लागि सांस्कृतिक प्रस्तुति र झाँकीसहितको कार्यक्रम तय गरिएको छ। यसलाई केवल स्वागत कार्यक्रम नभई लामो समयपछि देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्र देखिएको राजनीतिक सक्रियताको संकेतका रूपमा समेत हेरिएको छ।
देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने बताइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा गत फागुन १३ गते राति उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि चैत ७ गते उनी हङकङ पुगेका थिए। त्यसयता विदेशमै रहेका देउवा झन्डै आधा वर्षपछि नेपाल फर्किन लागेका हुन्।
स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसभित्रको अर्को महत्वपूर्ण राजनीतिक कार्यक्रममा सहभागी हुनेछन्। शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा उनको सहभागिता रहने तयारी छ।
इतर समूहले उक्त भेलालाई संगठनात्मक तथा राजनीतिक रूपमा महत्वपूर्ण मानेको छ। शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भेलामा देशभरबाट नेता–कार्यकर्ता सहभागी हुने र करिब पाँच हजारको उपस्थिति रहने आयोजकको दाबी छ।
तीन दिनसम्म सञ्चालन हुने भेलामा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण, नेतृत्व तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी छ। लामो समयपछि देउवा सार्वजनिक राजनीतिक गतिविधिमा देखिन लागेकाले उनको स्वदेश फिर्ती र त्यसपछि हुने राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा विशेष चासोका साथ हेरिएको छ।


