काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीमार्फत अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले २०७४ सालमा गरेको सफाइको फैसला सदर गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पुनरावेदन अस्वीकार गरेको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिलन गुरुङ दम्पतीले ७ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। विभागको आरोपअनुसार उक्त सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको र आपराधिक गतिविधिबाट आर्जन भएको आशंका गरिएको थियो।
तर, विशेष अदालतले २०७४ माघ १० गते अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणहरू आरोप पुष्टि गर्न पर्याप्त नरहेको निष्कर्ष निकाल्दै दुवैलाई सफाइ दिएको थियो।
विशेष अदालतको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। सर्वोच्चले लामो सुनुवाइपछि विशेष अदालतकै निर्णयलाई सदर गर्दै गुरुङ दम्पतीलाई अन्तिम रूपमा पनि सफाइ दिएको हो।
सर्वोच्चको यस फैसलासँगै झण्डै आठ वर्षदेखि न्यायिक प्रक्रियामा रहेको यो सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा टुंगिएको छ। अब मिलन गुरुङ र इन्दिरा घले गुरुङविरुद्ध यस मुद्दामा लगाइएका अवैध सम्पत्ति आर्जनका आरोप कानुनी रूपमा समाप्त भएका छन्।


