काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसद्को गरिमा र अनुशासन कायम राख्न सांसदहरूलाई कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले सबै दलका प्रमुख सचेतक र सचेतकलाई आफ्ना सांसदले मर्यादित पोशाक, आधिकारिक लोगो र संसदीय अनुशासन पालना गराउने जिम्मेवारी लिन आग्रह गरेका हुन्।
बैठकमा प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साललगायतले संसद्मा कालो चस्मा लगाएर आउने विषय पनि उठेको थियो। सभामुखले प्रधानमन्त्री र मन्त्रीलाई पनि सम्बन्धित दलले नियम पालना गराउनुपर्ने बताएका छन्।
सभामुखले संसद् बैठक चलिरहेका बेला ल्यापटप वा अन्य उपकरणबाट सेयर कारोबार नगर्न, लबीमा अनावश्यक भीड नगर्न तथा बैठकमा नियमित उपस्थित हुन पनि निर्देशन दिएका छन्।
प्रतिनिधिसभा नियमावली–२४२ अनुसार सांसदहरूले सभामुखले तोकेको मर्यादित पोशाक र आधिकारिक लोगो अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था छ। नियम उल्लंघन गर्ने सांसदमाथि अब थप निगरानी र कडाइ गरिने संकेत सभामुखले दिएका छन्।


