काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सोमबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा बसेको बैठकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई रोजगारीका अवसरसँग जोड्न आवश्यक सिपमूलक तालिम सञ्चालन गरी रोजगारमा आबद्ध गराउने निर्णय गरेको हो।
यसक्रममा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुमवासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकताको मूल्यांकनबारे छलफल गरिएको थियो।
मूल्यांकनका क्रममा सरसफाइ, माली, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ तथा साना व्यवसाय सञ्चालनलगायतका क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूको पहिचान भएको मन्त्रालयले जनाएको छ।
बैठकले पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सिपमूलक तालिम सञ्चालन गर्ने र तालिमपछि रोजगारीमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ।
बैठकमा मन्त्री यादवले सुकुमवासीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित रोजगारी उपलब्ध गराउने विषयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।


