काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मनी पठाउन खोजिएको १७ वर्ष पुरानो प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ, जहाँ बयानपछि थुनछेक बहस हुनेछ।
सीआईबीका अनुसार २०६५–०६६ सालमा परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत रहँदा भट्टराईले वास्तविक प्रक्रिया पूरा नगरी केही ट्राभल डकुमेन्ट दुरुपयोग भएको घटनामा संलग्न रहेको आरोप छ। अनुसन्धानका क्रममा ती कागजात तिब्बती शरणार्थीको नाममा प्रयोग गरी जर्मनी पठाउने प्रयास गरिएको दाबी गरिएको छ।
यो प्रकरण जर्मन दूतावासले २०६८ सालमा शंकास्पद ट्राभल डकुमेन्टबारे जानकारी गराएपछि अनुसन्धानमा आएको थियो। सीआईबीले आवश्यक अभिलेख र कानुनी प्रक्रिया बिना यात्रा अनुमति जारी गरिएको निष्कर्ष निकालेको छ।
भट्टराईले भने आफू घटनामा संलग्न नरहेको दाबी गर्दै आफ्नो हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने बताएका छन्। उनीविरुद्ध राहदानी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। दोषी ठहरिए दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।


