जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच १९ बुँदे मागका विषयमा समझदारी भएको छ। जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समेटेर कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष पेश गरिएको छ। सरकारले ती मागलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि उपयुक्त समयमा आवश्यक समिति गठन गर्ने समझदारी गरेको उनले बताए।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
सरकारी पक्षबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि हिन्दू सम्राट सेना नेपालले आफ्ना सबै आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।
गृहमन्त्री गुरुङले सरकारले यसअघि प्राप्त १३ बुँदे तथा आज बुझाइएको थप ६ बुँदे गरी कुल १९ बुँदे मागपत्र औपचारिक रूपमा ग्रहण गरेको र त्यसलाई आवश्यक प्रक्रिया अनुसार अघि बढाइने बताएका छन्।


