काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी विरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बिगो दाबीसहित ठगी मुद्दा दायर भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। व्यवसायी सुभाष श्रेष्ठ ले दिएको जाहेरीपछि पक्राउ परेका गिरीमाथि घरजग्गा, सवारीसाधन कब्जा गर्ने, गाडी कवाडीमा बेच्ने, खाली चेक दुरुपयोग गरी ठगी गर्न खोज्ने तथा आपराधिक विश्वासघात गरेको आरोप छ।
सीआईबीका अनुसार गिरीले श्रेष्ठ कन्स्ट्रक्सनको सम्पत्तिमा गैरकानुनी कब्जा गर्नुका साथै करोडौँ रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद सजाय भोगिसकेका गिरी पछिल्लो निर्वाचनमा कांग्रेस महामन्त्री गुरुराज घिमिरे का चुनावी कमान्डरका रूपमा मोरङ–४ मा सक्रिय थिए। उनी कांग्रेसको विराटनगर महानगर सभापतिको दाबेदारसमेत बनेका थिए।


