विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध जनाएका छन् भने बजार–पसल बन्द भएका छन्। यातायात सेवासमेत आंशिक रूपमा प्रभावित भएको छ।
गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। उक्त घटनापछि सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सातबुँदे सहमति भएको छ। सहमतिपछि आजै दिउँसो मृतकहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
यद्यपि सहमति भइसकेपछि पनि विराटनगरमा विरोध प्रदर्शन जारी रहेको छ। प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसअघि बिहीबार विराटनगरमा बसेको सर्वपक्षीय बैठकले शुक्रबार दिउँसो ३ बजे सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। तर केही पक्षले अहिलेको संवेदनशील अवस्थामा तत्काल र्याली आयोजना गर्नु उपयुक्त नहुने भन्दै त्यसको विरोध जनाएका थिए।
स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।


