काठमाडौं। सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि उत्पन्न तनाव क्रमशः कम हुँदै गएको छ। बुधबारदेखि बजार खुल्न थालेका छन्, सवारीसाधन सञ्चालनमा आउन थालेका छन् र जनजीवन पनि सामान्य लयमा फर्किन थालेको छ। यद्यपि, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेश भने अझै कायम रहेको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि प्रशासनले साउन १२ गते बेलुका ८ बजेदेखि कर्फ्यु लागू गरेको थियो। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार परिस्थितिको निरन्तर समीक्षा भइरहेकाले तत्काल कर्फ्यु हटाउने निर्णय गरिएको छैन।
कर्फ्यु लागू भएका क्षेत्रमा हिँडडुल, सभा, जुलुस, प्रदर्शन, भेला तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले इटहरी, रामधुनी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकासहित विभिन्न क्षेत्रमा कर्फ्यु कायम राखेको छ। यसैबीच, पकलीदेखि कोशी ब्यारेजसम्म रोकिएका पूर्व–पश्चिम राजमार्गका सवारीसाधनलाई नेपाल प्रहरीले सुरक्षा स्कर्टिङसहित गन्तव्यतर्फ पठाउन थालेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई पर्याप्त मात्रामा परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ। पूर्ण रूपमा शान्ति र सुरक्षा सुनिश्चित भएपछि मात्र कर्फ्यु हटाउने विषयमा निर्णय गरिने प्रशासनले जनाएको छ।


