काठमाडौँ । रश्मी रिजाल मृत्यु प्रकरणमा तीनजनाविरुद्ध किटानी जाहेरी परेको छ । सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रिजालको आत्मदाहपश्चात मृत्यु प्रकरणमा क्यापिटलका सिइओसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेको हो । उक्त प्रकरणमा क्यापिटलका सिइओ विकास खनालसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको रश्मीको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
यता प्रहरीले स्रोतले समेत उक्त प्रकरणमा तीनजनाविरुद्ध जाहेरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार उक्त जाहेरीमा घटना हुनुअघि सिइओ खनालसहित तीन जना रश्मीको खोजीका लागि भन्दै घरमै पुगेका थिए । उनीहरुले रश्मीलाई खोज्ने बाहनामा घर खानतलासी गरेकोसमेत पारिवारिक स्रोतले बताएको छ । यद्यपि उनीहरुले के खोजेका थिए ? के पाए ? र के लिएर गए ? भन्ने खुलेको छैन ।
हाल प्रहरीले प्राप्त प्रमाण, घटनास्थलको अवस्था, घटनास्थलमा भएका सिसिटिभी क्यामेराका फुटेज र परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको छ । यसो त पोष्टमार्टम रिपोर्टले रश्मीको आत्मदाहकै कारण ज्यान गएको पुष्टि गरेको छ तर प्रहरीले आत्मदाह गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यता रश्मीका सहकर्मीले समेत उनी केही दिनदेखि निराश देखिएको बताएका छन् । नुवाकोटको तादी गाउँपालिका स्थायी घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका-९ बस्दै आएकी रश्मी तारकेश्वर-१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा एमजीको कोमेटमा मृत अवस्थामा भेटिएकी थिइन । रश्मीको एक छोरा र श्रीमान छन् ।


