काठमाडौँ । चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको विषयलाई लिएर वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। चिकित्सकहरुको आन्दोलनका कारण आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द छ ।
स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही हुने भन्दै ओपीडी सन्चालन गर्न चिकित्सकहरुलाई आग्रह गरे पनि चिकित्सकहरुले सेवा सञ्चालन गरेका छैनन् ।आज नारायणी अस्पतालका चिकित्सकले राजीनामा दिए, अझै पनि माग पुरा नभए भोलि देशैभरका चिकित्सकहरुले राजीनामा दिने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।
गत शनिबार हृदयघात भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए भने चिकित्सकमाथि हातपात गरेका थिए ।


