काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनाल कैलालीस्थित लम्कीचुहा अस्पतालको सेवा र समस्याबारे स्थानीयसँग छलफल गर्ने क्रममा विवादमा तानिएका छन्।
सार्वजनिक भएको भिडियोमा सांसद खनालले एक स्थानीयलाई औंला ठड्याउँदै, “कल्ले भन्यो? प्रमाण छ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ” भन्दै आक्रोशित अभिव्यक्ति दिएको देखिन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको व्यापक चर्चा भइरहेको छ।
अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाका अनुसार छलफल अस्पतालका समस्या, विशेषगरी शान्ति–सुरक्षाको विषयमा केन्द्रित थियो। आफूले अस्पतालमा काम गर्ने वातावरण नभएको र सरकारबाट सुरक्षा आवश्यक रहेको कुरा उठाएपछि सांसद खनाल आवेशमा आएको उनले बताएका छन्।
थापाले उक्त भिडियो सम्पूर्ण छलफल नभई संवादको एउटा अंश मात्र भएको उल्लेख गर्दै आफूले जनताको गुनासो राख्ने क्रममा सांसदबाट आवेशपूर्ण प्रतिक्रिया आएको दाबी गरेका छन्।
यस विषयमा सांसद खनालको प्रतिक्रिया लिन खोजिए पनि उनी कार्यक्रममा व्यस्त रहेको भन्दै सचिवालयले तत्काल प्रतिक्रिया दिन सकेन। घटनापछि सार्वजनिक भएको भिडियोले सामाजिक सञ्जालमा सांसदको व्यवहारबारे बहस सुरु भएको छ।


