झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ। भिडियोमा केही व्यक्तिले उनलाई थप्पड हानेर पैसा चोरी गरेको आरोप लगाएको देखिन्छ।
घटनापछि अशोक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा लिखित निवेदन दिँदै आफू योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका छन्। उनका अनुसार करिब एक महिनाअघि बिर्तामोडमा साथीहरूसँग रहेका बेला भएको घटनालाई पछि भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल गरिएको हो।
निवेदनमा उनले अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ नामले चिनिने व्यक्तिहरूले आफूलाई ‘हजार रुपैयाँ चोरी गरेको’ आरोप लगाउँदै कुटपिट गरेको, भिडियो खिचेको र पछि सामाजिक सञ्जालमा फैलाएर आफ्नो सामाजिक प्रतिष्ठा तथा भविष्यमा गम्भीर असर पुर्याएको उल्लेख गरेका छन्। भिडियो हटाउन आग्रह गर्दा उल्टै धम्की दिएको आरोपसमेत उनले लगाएका छन्।
घटनापछि सामाजिक सञ्जालमा दोषीमाथि कडा कारबाहीको माग चर्किएको छ। धेरैले सानै उमेरमा चर्चामा आएका कलाकारमाथि यस्तो व्यवहार हुनु दुःखद भएको भन्दै निष्पक्ष छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।
अशोक दर्जीले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफूलाई न्याय दिलाउन प्रहरीसँग माग गरेका छन्। हाल प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


