काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ४७ हजार ७९ ले घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो आर्थिक वर्षमा यो संख्या ८ लाख ३९ हजार २६६ थियो।
यस वर्ष श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। महिलाको संख्या भने अघिल्लो वर्षको तुलनामा करिब एक हजारले बढेको विभागले जनाएको छ।
तथ्यांकले दक्ष जनशक्ति विदेशिने क्रम बढिरहेको देखाएको छ। आर्थिक वर्षभर ४ लाख ८२ हजार ६४३ दक्ष, ३ हजार ५७० प्रोफेसनल, १ हजार ९६ उच्च सीपयुक्त, १ लाख १४ हजार ६१४ अर्धदक्ष र १ लाख ९० हजार २६४ अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।
गन्तव्यका हिसाबले यूएई पहिलो रोजाइ बनेको छ, जहाँ एक वर्षमा १ लाख ८३ हजार ५८० नेपाली पुगेका छन्। त्यसपछि मलेसिया (१ लाख ३२ हजार ६४६), कतार (१ लाख ३२ हजार ५१), साउदी अरेबिया (१ लाख २४ हजार ५८३) र कुवेत (४३ हजार ३६०) रहेका छन्।
विभागका अनुसार पछिल्ला वर्षहरूमा रोमानिया, साइप्रस, क्रोएसिया, टर्की, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड र अस्ट्रियालगायत युरोपेली मुलुकमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।


