काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने प्रक्रिया नसकिएकाले बन्दसत्र ढिलिएको हो।
कार्यतालिकाअनुसार आइतबार बिहान साढे ८ बजे बन्दसत्र सुरु हुने तय भए पनि प्रतिनिधिको अन्तिम सूची टुंगो लगाउन समय लागेकाले कार्यक्रम प्रभावित भएको नेता गणेश पराजुलीले जानकारी दिए।
‘कार्यतालिकाभन्दा केही ढिला भएको हो, अब छिट्टै बन्दसत्र सुरु हुन्छ,’ पराजुलीले भने।
निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा नाम, ठेगाना तथा अन्य विवरणमा त्रुटि भेटिएपछि त्यसको रुजु र सच्याउने काम भइरहेको छ। त्रुटि सच्याउन प्रतिनिधिहरूले निवेदन दिनुपर्ने व्यवस्था रहेकाले प्रक्रिया लम्बिएको बताइएको छ।
बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ। अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव तथा उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको अर्थ–राजनीतिक प्रस्तावना पेश गर्नेछन्।
उक्त प्रतिवेदन तथा प्रस्तावमाथि छलफल र पारित प्रक्रिया सम्पन्न भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
प्रतिनिधि व्यवस्थापनमा समस्या, रास्वपा बन्दसत्र अझै सुरु भएन
प्रतिनिधि व्यवस्थापनमा समस्या, रास्वपा बन्दसत्र अझै सुरु भएन
तपाईको प्रतिक्रिया


