धनुषा, असार ८ — मुखियापट्टी मुसहरनिया गाउँपालिकाद्वारा सञ्चालित रेमी (REMI) परियोजनाअन्तर्गत सहकारी संस्थाको क्षमता विकाससम्बन्धी तीनदिने तालिम कार्यक्रम आजदेखि सुरु भएको छ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिमको उद्घाटन गरिएको हो। तालिम असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा प्रशिक्षक रामनरेश यादव र लालबाबू यादवले सहकारी संस्थाको सुशासन, व्यवस्थापन, वित्तीय अनुशासन तथा संस्थागत क्षमता अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गरिरहेका छन्।
उद्घाटन सत्रमा श्री आदर्श स्वावलम्बन सहकारी संस्था लिमिटेडका पदाधिकारीहरू, नगर आप्रवासी श्रमिक सञ्जालका पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

गाउँपालिकाका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिमले सहकारी संस्थाका पदाधिकारीहरूको नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





