३ असार, काठमाडौं ।** त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।
समितिले तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको पहल र त्रिविको सक्रियतामा उक्त रकम फिर्ता गराइएको विश्वविद्यालयले जनाएको छ।
त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको जनाएको छ।
विश्वविद्यालयले अध्ययन बिदा सुविधा उपयोग गर्ने शिक्षक–कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली तथा कानुनी प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ।
अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना
अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना
तपाईको प्रतिक्रिया

