सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका का नगरप्रमुख बिरेन्द्र माझी सडक अतिक्रमण हटाउने अभियानमा स्वयं अग्रसर भएका छन्। सडक छेउमा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउन नगरप्रमुख माझी आफैं सडकमा उत्रिएपछि स्थानीय स्तरमा यसको व्यापक चर्चा भइरहेको छ।
नगरपालिकाले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा कुनै पक्षपात नगरी सबैलाई समान रूपमा खाली गराएको स्थानीयले बताएका छन्। सडक अतिक्रमणले सार्वजनिक आवागमनमा समस्या सिर्जना गरेको भन्दै नगरपालिकाले अभियान सञ्चालन गरेको हो।
नगरप्रमुख माझी आफैं फिल्डमा खटिएर सडक अतिक्रमण हटाउने कार्यमा सक्रिय देखिएपछि स्थानीयवासीले प्रशंसा गरेका छन्। सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म “मधेशमा फेरि अर्को बालेन जन्मिए” भन्ने प्रतिक्रिया समेत आउन थालेको छ। धेरै नागरिकले सार्वजनिक सम्पत्तिको संरक्षण र कानुन कार्यान्वयनमा देखिएको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्।
यद्यपि, केहीले अतिक्रमण हटाउने कार्यसँगै दीर्घकालीन व्यवस्थापन र वैकल्पिक समाधानमा समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन्। नगरपालिकाले भने सार्वजनिक क्षेत्र संरक्षण र व्यवस्थित शहरीकरणका लागि अभियानलाई निरन्तरता दिने जनाएको छ।

