काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक खुस्बु ओलीले सनातनी राज्यको पक्षमा आवाज उठाएकै कारण आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको विषय संसदमा उजागर गरेपछि गृहमन्त्री सुधन गुरुङले चासो दिएका छन् । खुस्बुले बोलेलगत्तै गुरुङले उनीसँग भेटेर छलफल गरे । गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आश्वासन दिएको बताइएको छ । बैठकभित्रै ओलीलाई भेटेर उनले दोषीमाथि कारबाही अघि बढाउने आश्वस्त पार्दै यसको लागि प्रक्रियामा जान आग्रह गरेका छन् ।
हिजो गृहमन्त्री नियुक्त भएलगत्तै गुरुङले कसैको पनि चरित्रहत्या आफूले नसहने बताएका थिए । विशेषगरी छोरी–चेलीहरुको चरित्रहत्याको घटनालाई गृह मन्त्रालयले संवेदनशीलरुपमा लिने उनको भनाइ थियो । ओलीले संसदमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी थिइन् । ओलीले केही दिनअघि संसद बैठकमा ९० प्रतिशत सनातनी बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाएकी थिइन् ।
ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

