गुल्मी । गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । लु १ ज १९९३ नम्बरको जिपका चालक सत्यवती गाउँपालिका–६ निवासी ३३ वर्षीय कृष्णप्रसाद राना र लु २ ख ६२२३ नम्बरको फोर्स गाडीका चालक गुल्मीदरबार गाउँपालिका–१ निवासी ४० वर्षीय रामबहादुर परियारको ‘मल्टी ड्रग स्क्रिन’ परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा उनीहरूले लागुऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । दुवैलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) बीरेन्द्र वीर विश्वकर्माले बताए । उनीहरूमाथि थप अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

