काठमाडौँ । सर्लाही प्रहरीले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गर्न सफल भएको छ । हरिवन नगरपालिका १ अत्रौलीका ४४ बर्षीय रामपुकार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
दुई दशक अघि एक महिलालाई जबर्जस्ती करणी गरेको अदालतबाट ठहर भइसकेका महतोलाई ५ वर्षको सजाय तोकिएको छ । तर महतो लामो समयदेखि फरार रहेका थिए । गोप्य सूचनाका आधारमा महतोलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरीको तथ्यांक अनुसार यस आर्थिक वर्षमा अनुसन्धानको क्रममा २ सय १३ प्रतिवादी पक्राउ परेका छन् । यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ३ सय १ जना गरी जम्मा ५ सय १४ जना प्रतिवादी पक्राउ गरिएको छ ।