काठमाडौं । बैंकिङ सेक्टरले बिहीबार(आज) सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो।
अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । दिउँसो १२ : ४३ बजे नेप्से २७०५ अंकसम्म पुगे पनि अन्ततः २७ सयमाथि टिक्न सकेन ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोडमा खुम्चियो ।
१०४ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ सेक्टरका अलवा आज माइक्रोफाइनान्स २.५८ प्रतिशत बढ्यो । निर्जीवन बीमा स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो ।