रूपन्देहीमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिकाका दुई जना कर्मचारीसहित ३ जनालाई बलात्कार आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
पीडित परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दिएपछि कोटहीमाई गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ बस्ने बंटी भनिने शैलेश पाण्डे पक्राउ परेका हुन् ।
मनोहर गाउँपालिकाका स्थायी कर्मचारी हुन् भने मुकेश करार कर्मचारी हुन् । त्यस्तै, शैलेश वडा नं. ३ का वडाअध्यक्षका छोरा हुन् । एसपी राठौरका अनुसार घटना भदौ ५ गते भएको थियो । कामको शिलशिलामा लुम्बिनी जाँदा १८ वर्षीया किशोरीमाथि बलात्कार भएको भन्दै पीडित परिवारले जाहेरी दिएका छन् ।
आफूलाई रोजगारी दिने भन्दै होटल जस्तो ठाउँमा लगेर जबरजस्ती करणी गरेको भन्दै किशोरीले प्रहरीसमक्ष बताएकी छन् । अहिले उनीहरू तीनै जनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत भैरहवामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको एसपी राठौरले बताए ।