एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शाकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तत्काल हटाउन पत्र प्राप्त गरेको छ । केही दिनअघि शाकिबमाथि हत्या आरोप लागेपछि यो पत्र पठाइएको हो ।
बंगलादेशमा हालै पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनमा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । शाकिबसहित १४७ जनामाथि ती घटनाहरूमध्ये एक विद्यार्थीको हत्या गरेको आरोप लागेको छ ।
साउन ५ गते गोली लागेर विद्यार्थी रुबेलको मृत्यु भएपछि उनका पिता रफिकुल इस्लामले ढाकामा एफआईआर दर्ता गरेका थिए । अब रुबेलका पिताले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई कानुनी नोटिस पठाएका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शाकिबको क्रिकेट करियर बारे निर्णय लिइने बताएका थिए ।
शाकिब हाल रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । उनको टोलीले सिरिजको पहिलो खेल रावलपिण्डीमा खेलेको थियो, जहाँ सिरिजमा २ टेस्ट म्याच समावेश छन् । दोस्रो खेल अगस्ट ३० देखि रावलपिण्डीमा सुरु हुनेछ ।
३७ वर्षीय शाकिब शेख हसिनाको सरकारमा मन्त्रीको रूपमा कार्यरत थिए । देशमा हिंसात्मक प्रदर्शनपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो र उनले देश पनि छोड्नुपरेको थियो ।
हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको मुख्य सल्लाहकारको भूमिका सम्हालेका छन् ।