काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ । शनिबार जिपमा सवार तीन जनासहित जिप सुनकोशी नदीमा खसेको थियो । दुर्घटना लगतै खोजीमा जुटेको गोताखोरको टोलीले आज बिहान २ बजेतिर मात्रै जिप भेटाएको हो । तर, जिपमा सवार ३ जना भने अझै बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडिबाट हामफालेका सुशान्त कक्षपति घाइते छन् । उनको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।