रौतहट – रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थानबाट ४ किलोमिटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ । नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव फेला परेको हो । परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा वर्ष १६ का सचिन कुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलबार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
गत आइतबार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए । घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट विपद उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलबार अबेर साँझ घटनास्थलबाट ४ किलोमिटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।