काठमाडौं – त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको ४ दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सम्पन्न मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशन गरिएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र लगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।
शनिबार राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए ।
त्रिविले परीक्षा समाप्त भएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको थियो । यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको सम्भवतः त्रिविको इतिहासमै पहिलो पटक भएको दाबी गरिएको छ ।
स्रोत साधनले भ्याएसम्म परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको कामलाई छिट्टै गर्छौँ । अन्य विषयका नतिजा पनि छिटै प्रकाशन गर्ने तयारीमा छौँ परीक्षा नियन्त्रक जोशीले भने । source : terai online