काठमाडौं । राप्रपाका कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको आरोपमा राप्रपाले तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ ।
गत साता काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनापछि राप्रपा छानबिन समित गठन गरेको थियो । सो छानबिन समितिले दिएको सुझावका आधारमा पार्टीका सहमहामन्त्री प्रेम बलायरसहित तीन जना निलम्बित भएका हुन् ।
निलम्बित हुनेमा बलायरसहित काठमाडौं ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । बलायर राप्रपाका उपाध्यक्ष तथा पूर्व मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव हुन् ।
गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो । पार्टीको बैठकमा श्रेष्ठले नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनको समूहले हातपात गरेको श्रेष्ठ पक्षको दाबी छ ।