काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो। केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो।
उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो। गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई आज मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिएका छन्।
चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । नेकपा एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए।
उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तक लेखेका छन् । पछिल्लो समय उनले घोराही-१७ स्थित बेलभारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए ।