काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी छ । हिजो पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान भएको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरुको बयान लिने काम भइरहेको छ । प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना अझै फरार रहेका छन् ।

