काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरी जेलमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाएपछि उनी छुटेका हुन् । डिल्लीबजार कारागारबाट निस्किँदा उनलाई समर्थकले भव्य स्वागत गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी छुट्ने भएपछि आज बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । २०७२ भदौमा सुदूरपश्चिममा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । मुलुक संघीयतामा जाँदा अलग्गै थरुहट प्रान्तको माग गर्दै भएको संघर्ष हिंसात्मक बनेपछि भएको सो घटनामा सरकारले ५८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
आन्दोलनको नेतृत्व गरेका चौधरीलाई सरकारले घटनाको मुख्य योजनाकारको रुपमा मुद्दा चलाएको थियो । घटनापछि फरार रहेका उनले फरार रहेकै अवस्थामा २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएर कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनले शपथ लिन नपाउँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । त्यही बेलादेखि चौधरी रिहाइको विषयले सत्ता राजनीतिको जोडघटाउमा प्राथमिकता पाउँदै आएको छ । विभिन्न सरकारका पालामा चौधरीलाई लगाएको मुद्दा फिर्ता लिन पटक-पटक सहमति र कानुनमा संशोधनसमेत भएको छ ।
राजनीतिक मुद्दालाई अपराधको रुपमा हेरिएको तर्क गर्दै आफूलाई न्याय दिन माग गर्दै आएका चौधरीले आफू जनता समाजवादी पार्टीमा रहँदा मुद्दा फिर्ता गराउन पहल गरेका थिए । पछि उनले आफ्नै निर्देशनमा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी दर्ता गरे। गत निर्वाचन निर्वाचनमा कैलालीमा पहिलो दल बनेको नागरिक उन्मुक्ति अहिले प्रदेश र संघ दुवैतर्फ सत्ता गणितमा निर्णायक अवस्थामा छ । रेशम रिहाइलाई प्रमुख मुद्दा बनाएको उन्मुक्तिकी अध्यक्ष चौधरी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत छिन् ।
रेशमलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलालाई यही जेठ दुई गते सर्वोच्च अदालतले सदर गरेको छ । तर सजाय सदर भएको दुई साता नबित्दै चौधरी जेलबाट छुटेका छन् ।