काठमाडौँ । भारतले नयाँ संसद भवन बनाएको छ । निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो । यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन् । भवन त्रिकोणात्मक आकारमा बनेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ संसद भवन बनाउन ९७० करोड भारू खर्च भएको बताइएको छ । संसद भवनको आउने आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको छ ।
उद्घाटनका विषयलाई लिएर विवाद सुरू भएको छ । भारतीय राष्ट्रिय कंग्रेस, आम आद्मी पार्टी, तृणमूल कंग्रेसलगायत १९ वटा विपक्षी दलले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्घाटन समारोह बहिष्कार गर्ने बताएका छन् । संसद भवन उद्घाटन राष्ट्रपतिले गर्नुपर्नेमा प्रधानमन्त्री मोदी आफैंले गर्न लागेका राष्ट्रपतिमाथि अपमान गरिएको भन्दै उनीहरूले उद्घाटन समारोह बहिष्कार गर्ने बताएका हुन् ।
विवाद हुनुको अर्को कारण उद्घाटनको दिन पनि हो । संसद भवन उद्घाटन गर्ने भनिएको मे २८ तारिख हिन्दुत्व विचारक भिडी सवारकरको जन्मदिन हो । सत्तारूढ भाजपाले उनलाई नायकका रूपमा सम्मान गर्छ भने अरू दलहरूले उनलाई विभाजकका रूपमा हेर्छन् ।