चितवन ।बर्खाका कारण बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी २३ असोज शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
गत १७ असारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरिएको थियो। वर्षाका कारण भत्किएका सडक तथा रुट मर्मत गर्ने, खोल्सा तथा खोलामा आएको बाढीले पुर्याएको क्षति सुधार्ने र ढलेका रुख हटाउने काम भइरहेको निकुञ्जले जनाएको छ।
असोजको दोस्रो सातामा आएको बाढीका कारण जिप सफारीका विभिन्न रुटमा क्षति पुगेपछि सञ्चालनमा ढिलाइ भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
उनका अनुसार असोजको दोस्रो सातादेखि नै जिप सफारी सञ्चालन गर्ने तयारी थियो। तर, ठूलो वर्षापछि निकुञ्जभित्रका खोल्सा तथा खोलामा आएको बाढीले रुट बिगारेपछि मर्मतको काम अघि बढाउनुपरेको हो।
असोज दोस्रो सातामा रिउ खोलामा आएको बाढीले टाइगरटप्स क्षेत्रमा जाने रुटमा बढी क्षति पुर्याएको छ। उक्त क्षेत्रमा ग्राभेल हालेर रुट सञ्चालनयोग्य बनाउने काम भइरहेको थापामगरले बताए।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप र हात्ती सफारी सञ्चालन हुँदै आएको छ। निकुञ्जभित्र हात्ती सफारी भने सञ्चालन गर्न पाइँदैन।
हरेक वर्ष बर्खाका करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द हुने गरे पनि जंगल वाक भने सञ्चालनमा रहन्छ।
चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक औसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकले जिप सफारी गर्ने गरेका छन् भने नेपाली पर्यटकको पनि आकर्षण उत्तिकै छ।
निकुञ्जले जिप सफारीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्दै आएको छ। हाल निकुञ्जमा सौराहा क्षेत्रबाट ३०, कसाराबाट १०, मेघौलीबाट ७ र अमलटारीबाट ५ वटा जिप सञ्चालन हुँदै आएका छन्। एउटा जिपमा अधिकतम १० जना यात्रु अट्ने व्यवस्था छ।
दसैँअघि नै खुल्ने भयो चितवन निकुञ्जको जिप सफारी
दसैँअघि नै खुल्ने भयो चितवन निकुञ्जको जिप सफारी
तपाईको प्रतिक्रिया



