पोखरा । लगातारको वर्षापछि आएको बाढी र पहिरोले मनाङको चामेमा त्रास बढाएको छ। सदरमुकाम चामे आसपासका डाँडाबाट पटक–पटक पहिरो खस्न थालेपछि स्थानीय, कर्मचारी तथा सुरक्षाकर्मी सुरक्षित स्थानको खोजीमा छन्।
चामे साँघुरो भूभागमा अवस्थित भएकाले पहिरोको जोखिम उच्च छ। माथिबाट पहिरो खस्ने र तल मर्स्याङ्दी नदी तथा स्थानीय खोलाको बहाव बढ्ने भएपछि बस्ती दोहोरो जोखिममा परेको स्थानीयको भनाइ छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार चामे आसपासका विभिन्न डाँडाबाट लगातार पहिरो खसिरहेको छ। पहिरोको अवस्था बुझ्न र सुरक्षित रहन स्थानीयहरू पटक–पटक स्थान परिवर्तन गर्न बाध्य भएका छन्।
शनिबार रातिसमेत केही स्थानीयले मर्स्याङ्दी नदी किनार छाडेर जङ्गलतर्फ गएर रात बिताएका थिए। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सुरक्षित स्थानमा सार्न कठिन भइरहेको छ।
चामे गाउँपालिकाकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार जोखिम बढेपछि स्थानीयहरूलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास भइरहेको छ। तर एकातिर पहिरो र अर्कोतिर भासिएको जमिनका कारण सुरक्षित ठाउँ पहिचान गर्नै चुनौती बनेको छ।
“सक्नेहरू त दौडेर जोगिन सक्छन्, तर बालबालिका र वृद्धवृद्धालाई कहाँ लैजाने भन्ने नै समस्या छ,” लामाले बताइन्।
पहिरोका कारण मर्स्याङ्दी नदी तथा आसपासका खोलामा समेत अवरोध सिर्जना भएको छ। पानीको बहाव थप बढेमा नदी किनारका बस्तीमा जोखिम झनै बढ्न सक्ने स्थानीयको चिन्ता छ।
यसैबीच, सुरक्षाकर्मीले अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेका छन्। तर निरन्तर पहिरो खसिरहेका कारण उद्धार तथा सडक सञ्चालनको काम चुनौतीपूर्ण बनेको छ।
स्थानीयले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा आवश्यक परे हवाई उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि उद्धारको ठोस व्यवस्था हुन सकेको छैन।
चामेमा वर्षा नरोकिएसम्म पहिरो र बाढीको जोखिम कायमै रहने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ।



