काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक रूपमा बिदा भएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्न प्रस्ताव गरेका छन्।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा भट्टराईले ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको लिखित अवधारणापत्र पेस गर्दै नेतृत्व हस्तान्तरणलाई पार्टी पुनर्गठनको आवश्यक प्रक्रियाका रूपमा अघि सारेका हुन्। उपलब्ध रिपोर्टहरूमा पनि भट्टराईले ओलीलाई लिखित धारणा बुझाएको पुष्टि हुन्छ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम र पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै उनले पार्टीलाई नयाँ जीवन र गति दिन नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका छन्।
भट्टराईले आम कार्यकर्ता तथा जनसमुदायबाट व्यक्त धारणा र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनका निष्कर्षलाई आत्मसात् गर्दै नयाँ राजनीतिक निकासका लागि नेतृत्वले निर्णय लिनुपर्ने उल्लेख गरेका छन्। त्यसका लागि ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा भएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने उनको प्रस्ताव छ।
उनले आमसहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक तथा विधान महाधिवेशन आयोजना गर्नुपर्ने बताएका छन्। आवश्यकताअनुसार विधान संशोधन गरी पार्टीको संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई समयानुकूल पुनर्व्यवस्थित गर्नुपर्ने उनको प्रस्ताव छ।
भट्टराईको अवधारणापत्रमा पदाधिकारीका लागि अधिकतम दुई कार्यकाल र ७० वर्षे उमेरहद पुनःस्थापना गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ। त्यस्तै, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन गर्नुपर्ने विषय पनि समेटिएको छ।
भट्टराईले पार्टी पुनर्गठनका लागि नीति, संगठनात्मक संरचना, कार्यशैली र नेतृत्व प्रणालीमा समेत पुनरावलोकन आवश्यक रहेको धारणा यसअघि सार्वजनिक रूपमा राख्दै आएका छन्।
ओलीलाई सम्मानजनक बिदा दिन भट्टराईको प्रस्ताव, परिषद् बैठक माग
ओलीलाई सम्मानजनक बिदा दिन भट्टराईको प्रस्ताव, परिषद् बैठक माग
तपाईको प्रतिक्रिया



