काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशीसहित बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकलाई ‘मृतकसरह’ कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले बेपत्ता नागरिकका परिवारले राहत पाउन नसकेको तथा आर्थिक र कानुनी जटिलता झेल्नुपरेको भन्दै तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले सुनकोशी, भोटेकोशी र त्रिशूलीको बाढीमा बेपत्ता भएका नागरिकका परिवारको आर्थिक कारोबारसमेत प्रभावित भएको बताए। बेपत्ता व्यक्तिका परिवारले पटक–पटक मृतकसरह कानुनी हैसियत दिन माग गर्दै आए पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो।
दुलालले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा लागू गरिएको भनिएको सिन्डिकेटप्रति समेत आपत्ति जनाए। उनका अनुसार १ हजार १०० भन्दा बढी म्यानपावर कम्पनीमध्ये २५ वटा कम्पनीमार्फत मात्रै श्रमिक पठाउने व्यवस्था गरिएको विषय सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले मलेसियाली समकक्षीसँग यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेको समाचार आए पनि व्यवहारमा सिन्डिकेट कायम रहनु गम्भीर विषय भएको दुलालले बताए।
उनले सम्बन्धित मन्त्रालयले कूटनीतिक पहल गरी उक्त व्यवस्था तत्काल खारेज गर्न तथा सबै म्यानपावर कम्पनीले प्रतिस्पर्धात्मक रूपमा श्रमिक पठाउन पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरे।
बेपत्तालाई मृतकसरह मान्यता दिन नेकपा सांसदको माग
बेपत्तालाई मृतकसरह मान्यता दिन नेकपा सांसदको माग
तपाईको प्रतिक्रिया



