काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई-२०ए’ ठुलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट सो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
उक्त विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञसमेत नेपाल आएका छन्।
तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि नेपाललाई अत्यावश्यक रहेका बेली ब्रिजसमेत समावेश गरिएका छन्। पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक पर्ने विशेष उपकरणहरू भने स्थलमार्ग हुँदै लिजी(नेचुङ सीमा नाकामा आइपुगेको जानकारी दिइएको छ।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।


