काठमाडौँ । चीनले रसुवगढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ।
चीनले रातदिनको निरन्तर कामपछि सडक पुनः सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीले नेपालको सीमा नाका टिमुरे र चीनतर्फको सीमा नाका केरुङ पोर्ट बगाएको थियो।
नेपालतर्फबाट अझै टिमुरे नाकामा पुग्न सकिएको छैन भने चीनले बाढीले बगाएको सडक पुनः सञ्चालनमा ल्याएको हो। चिनियाँ उद्धार टोली केरुङ पोर्टमा पुगेको छ।
बुधबार बिहान करिब ८ बजेदेखि सडक सञ्चालनमा आएको सिन्ह्वाले जनाएको छ। सडक सञ्चालनमा आएसँगै उद्धार टोली, राहत सामग्री र केही उद्धार उपकरण मुख्य उद्धार क्षेत्रमा पुगिसकेको सिन्ह्वाले उल्लेख गरेको छ।


