काठमाडौँ । गत साता आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका विदेशी नागरिकहरूको शव उनीहरूका परिवारलाई हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले आवश्यक प्रक्रिया तय गरेको छ।
काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तय गरेको उक्त प्रक्रियाबारे जानकारी गराएको छ।
दूतावासका अनुसार विदेशी नागरिकहरूको शव उनीहरूका परिवारलाई बुझाउन आवश्यक कागजातहरू तयार गर्ने, शरीरको तस्बिर र अन्य विवरणहरू रेकर्ड गर्ने, पोस्टमार्टम जाँच गर्ने र मृत्युको कारण पुष्टि गर्नुपर्नेछ ।
औंठाछाप, डीएनए वा रगतको नमूना लिइनेछ । र, दूतावास र नेपाली अधिकारीहरूबीचको समन्वय पूरा गर्नु पर्नेछ ।
यदि, मृतकका आफन्त र परिवारका सदस्यहरूले नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध मृतकको तस्बिर र विवरणमार्फत शव पहिचान गर्न सकेमा, काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गर्नु पर्नेछ । त्यसपछि शव हस्तान्तरण गर्ने र भारत पठाउने प्रक्रिया सुरु हुनेछ ।
भारतीय दूतावासले ठूलो संख्यामा शवहरूबाट निम्त्याउने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले शवहरूलाई अस्थायी रूपमा संरक्षण गर्ने व्यवस्था गरेको बताएको छ । शवहरूको पहिचान गर्नुभन्दा पहिला रेकर्ड गरिएका आफन्तहरूको डीएनएसँग मिलाएर गरिनेछ ।
यदि, शवको पहिचान सम्भव छैन वा शव अस्थायी रूपमा गाडिएको छ भने नेपाल सरकारले डीएनए मिलान प्रक्रियामा सहयोग गर्नेछ । डीएनए प्रोफाइल बनाउन शवहरूबाट डीएनए नमूनाहरू लिइरहेको समाचारमा उल्लेख छ ।
मृतकका आफन्तहरूले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन सक्छन् । अथवा डीएनए मिलानको लागि रगतको नमूना प्रदान गर्न सक्छन् ।


