काठमाडौँ । सरकारले रसुवा बाढी पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको छ।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको बताए ।
उनले भने, ‘हामीलाई सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आइएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ।’
केही फ्रिजरहरू प्राप्त भइसकेको र केही आउने क्रममा रहेको समेत उनले जानकारी दिए। मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्ससहितको प्राविधिक सहयोग समेत माग गरिएको छ।
त्यस्तै बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको पनि उनले बताए ।


