काठमाडौँ । रसुवा बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन् ।
उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि कम्पनी र आफन्तबीच सहमति भएपछि घटनास्थलतर्फ गएका हुन् ।
फसेकाहरूका आफन्तलाई सहमति भएपछि दुई वटा हेलिकप्टर मार्फत घटनास्थलतर्फ लगिएको हो । उनीहरूले घटनास्थल पुगेर आफन्तको अवस्था, उद्धारको प्रगति तथा आयोजनास्थलमा भएको क्षतिको अवलोकन गर्नेछन् ।
यसअघि पाँच दिनसम्म आफन्तको अवस्थाबारे यकिन जानकारी नदिएको भन्दै परिवारजनले कम्पनी कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले ‘जीवित भए उद्धार गर्न र नभए शव उपलब्ध गराउन’ माग गर्दै तत्काल घटनास्थलको अवस्था देखाउन कम्पनीसँग माग गरेका थिए ।


