काठमाडौँ । नेपाली सेनाले भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको साथ लिई बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य गरिरहेको छ ।
त्रिशूली–३ए आयोजनाको टनेलमा गएराति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको नेपाली सेनाले जनाएको छ ।
“दुई वटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने, टनेलभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने कार्य भइरहेको छ,” नेपाली सेनाले सोमबार विज्ञप्ति जारी गर्दै त्रिशुली– ३ए मा भइरेको खोज तथा उद्धार कार्यबारे जनाएको छ ।
त्रिशूली–३बी आयोजनामा टनेलमा पनि विज्ञसहितको फौज खटिई खोज तथा उद्धार कार्य जारी रहेको छ ।
“विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा त्यसभन्दा भित्रको भाग हिलो माटोले पुरिएको अवस्थामा फेला पारेको छ। सो क्रममा दुई वटा शव संकलन गरिएको छ,” नेपाली सेनाले जनाएको छ ।
अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको छ । अपर त्रिशूली–१ को टनेलभित्र एक शव संकलन गरिएको नेपाली सेनाले जनाएको छ।
लाङटाङ आयोजनाको टनेलमा समेत खोज तथा उद्धार टोली प्रवेश गरी सर्च लाइटको प्रयोगसहित खोज तथा उद्धार कार्य चलिरहेको छ ।


