काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरो प्रभावित क्षेत्रका नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक हेलिकप्टरको माग नगर्न र सञ्चालनमा आएका वैकल्पिक सडक मार्गहरूको प्रयोग गर्न अनुरोध गरेको छ।
प्राधिकरणका अनुसार हालसम्म हेलिकप्टरबाट २५२ जना विदेशी र ३३४४ जना नेपाली नागरिकको सफल उद्धार भइसकेको छ।
हाल न्यून प्रभावित, प्रभावित नभएका वा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट पनि हवाई (हेलिकप्टर) उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।
यी हुन् सुचारु भएका वैकल्पिक मार्गहरू:
धादिङ जिल्ला जोड्ने मार्ग: धादिङबेसी – परैवाटार – नेपालटार – गजुरीटार – पिपलटार – आदमटार – बेलिनटार – केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट) पृथ्वी राजमार्गसम्म।
रसुवा जिल्ला जोड्ने मार्ग: विदुर – ढिकुरे – चौघडा – आप्र – नर्जा – लच्याङ – सरमथली – पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग) – कालिकास्थान – धुन्चे जाने बाटो। यो मार्ग हाल ४ चक्के साना सवारी साधन चल्न सक्ने गरी सुचारु गरिएको छ।
प्राधिकरणले रसुवाको उत्तरगया, गोसाईकुण्ड, आमाछोदिङ्मो, कालिकास नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर, बेलकोटगढीस धादिङको गल्छी, गजुरी, बेनिघाट रोराङ, सिद्धलेकस र गोरखा तथा तनहुँका विभिन्न वडाहरूलाई बढी प्रभावित क्षेत्रका रूपमा सूचीकृत गरेको छ।
विपद्को यस कठिन घडीमा धैर्यता अपनाउन र सरकारी संयन्त्रलाई सहयोग गर्न प्राधिकरणले सबैमा अपिल गरेको छ। थप जानकारीका लागि प्राधिकरणले टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।


